Text copied!
Bibles in Nepali (individual language)

गन्ती 11:13-32 in Nepali (individual language)

Help us?

गन्ती 11:13-32 in पवित्र बाइबल

13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।
14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ ?”
21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?”
23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।”
29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो !”
30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
31 त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
32 मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
गन्ती 11 in पवित्र बाइबल