Text copied!
Bibles in Nepali (individual language)

उत्पत्ति 25:11-34 in Nepali (individual language)

Help us?

उत्पत्ति 25:11-34 in पवित्र बाइबल

11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।
13 जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
14 मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा,
15 हदद, तेमा, यतूर, नापीश र केदमा ।
16 इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।
17 इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।
18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
19 अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।
20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।
22 तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
24 तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।
25 जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।
26 त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
27 बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।
28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।
29 याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
30 एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
31 याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”
32 एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”
33 याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।
34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।
उत्पत्ति 25 in पवित्र बाइबल