1 ऊज भन्ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्वरको भय मान्थे, र खराबीबाट फर्कन्थे ।
2 तिनका सात जना छोरा र तीन जना छोरी जन्मिएका थिए ।
3 तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए ।
4 हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
5 जब भोजका दिनहरू समाप्त हुन्थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।
6 तब एक दिन परमेश्वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
7 परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस् ?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
8 परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”