Text copied!
CopyCompare
पवित्र बाइबल - गलाती

गलाती 6

Help us?
Click on verse(s) to share them!
1भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
2एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।
3किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।
5किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ ।
6जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
7धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।
8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
9हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ ।
10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
14हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
15किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ ।
16यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
17अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु ।
18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।