Text copied!
CopyCompare
पवित्र बाइबल - २ कोरिन्थी

२ कोरिन्थी 10

Help us?
Click on verse(s) to share them!
1म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।
2म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।
3हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ ।
4हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।
5हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।
6तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ ।
7जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।
8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।
9मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ ।
10तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।”
11त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।
12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।
13तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।
14किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ ।
15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।
16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।
17“तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।”
18किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।