Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 13

Help us?
Click on verse(s) to share them!
1फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।
4ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्‌ ।
5परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्‍केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएका छैनौ ।
6मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
7के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?
8यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्‍तो छः
9मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
10यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
11ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
12हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
13यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्‍नो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
14किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु र त्‍यसलाई म भूइँसम्‍मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्‍नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
15किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्—
16यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
17यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी बोल्‍नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।
18यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌ । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?

19मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।
20यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्‍चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।
21म तिमीहरूका घुम्‍टा पनि च्‍यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्‍यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
22किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
23यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्‍यवाणी गरिरहनेछौ, किनकि म आफ्‍ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।'”