Text copied!
CopyCompare
पवित्र बाइबल - यर्मिया

यर्मिया 44

Help us?
Click on verse(s) to share them!
1मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।
3धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'
4त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
5तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।
6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'
7त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
8तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।
9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ ?
10आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।
12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।
13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,
14जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्‍ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।”
15तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,
16तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।
17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
18हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”

19स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र ?”
20तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,
21“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र ? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।
23तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
24तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।
25सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’
26त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
27हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।
28तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।
29यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।
30परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”