Text copied!
CopyCompare
पवित्र बाइबल - यर्मिया

यर्मिया 1

Help us?
Click on verse(s) to share them!
1बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।
2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।
3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।
4परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
5“मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।
6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”
7तर परमप्रभुले मलाई भन्‍नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ ।
8तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।”
9तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।
10उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
11परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस् ?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”
12परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।”
13परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस् ?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
14परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।
15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।
16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
17आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।
18हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।

19तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”