Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक

उपदेशक 4

Help us?
Click on verse(s) to share them!
1फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
2अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन ।
4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
5मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
6बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
7त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
8एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् । त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख-विलासलाई त्याग्दै छु ?” यो पनि बाफ र खराब अवस्था हो ।
9एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।
10एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ ।
11दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने ?
12एक जनालाई जित्‍न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।
13चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
14त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ ।
15मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।
16नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।