Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश

हितोपदेश 9

Help us?
Click on verse(s) to share them!
1बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।
2त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ ।
4“निर्बुद्धि को हो ? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
7गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।
8गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।
9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।
11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
12तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस् ।”
13मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
14त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
15त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
16“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
17“चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ ।”
18तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।