Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह

भजनसंग्रह 62

Help us?
Click on verse(s) to share them!
1परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।
2उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म धेरै डग्‍नेछैन ।
3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?
4त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला
5परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।
6उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।
7मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।
8ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला
9निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्‍तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्‍छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
10थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।
11परमेश्‍वरले एक पल्‍ट बोल्नुभएको छ, मैले यो दुई पल्‍ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो ।
12हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।