Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 11

Help us?
Click on verse(s) to share them!
1सोपर नमातीले जवाफ दिए र यसो भने,
2“यति धेरै शब्‍दका जवाफ दिनुहुँदैन र ? धेरै बोल्‍ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ र ?
3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र ? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र ?
4किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'
5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।
6उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।
7परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ ?
8यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्‍नुहुन्छ ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्‍न सक्‍नुहुन्छ ?
9यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र ?
11किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र ?
12तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।
13तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए,
14मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।
15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।
16तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो ।
17तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्‍थ्‍यो । त्‍यहाँ अँध्यारो भए पनि, त्‍यो बिहानजस्तै हुन्‍थ्‍यो ।
18त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्‍यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्‍यो र तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो ।

19साथै, तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्‍यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्‍थे ।
20तर दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन् । भाग्‍नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”