Text copied!
CopyCompare
पवित्र बाइबल - एस्तर

एस्तर 2

Help us?
Click on verse(s) to share them!
1यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे । तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे ।
2तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।
3राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् । तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।
4राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन् ।” राजालाई यो सल्लाह मन पर्‍यो, र तिनले त्यसै गरे ।
5शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए ।
6तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।
7तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन् । यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्‍थिन् । मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए ।
8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।
9यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।
10एस्तरको मानिसहरू र उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन्, किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए ।
11एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।
12स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो—
13एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।
14साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् ।
15जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन् ।
16अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो ।
17राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए ।
18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।

19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।
20मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् । मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन् ।
21ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।
22मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।
23त्यो सुचनको अनुसन्धान भयो र पुष्‍टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।