Text copied!
CopyCompare
पवित्र बाइबल - एज्रा

एज्रा 6

Help us?
Click on verse(s) to share them!
1त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।
2मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
3“राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,
4चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।
5अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'
6अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् ।
7परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन् ।
8परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।
9तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
10यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
11कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् ।
12त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”
13तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।
14यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए ।
15राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।
16इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।
17परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।
18मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।

19यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।
20पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।
21निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्‍वरको अनुसरण गरेकाहरू थिए ।
22तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।