Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 19

Help us?
Click on verse(s) to share them!
1यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
2तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
3तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”
4यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए ।
5यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।
6तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
7यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”
8यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
9तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।
10जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
11हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”