Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू

१ राजाहरू 5

Help us?
Click on verse(s) to share them!
1टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे ।
2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,
3“मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो ।
4तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।
5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'
6त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।”
7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।
8हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु ।
9मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।”
10त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए ।
11सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।
12आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।
13सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे ।
14तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।
15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।
16मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए ।
17राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।
18त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।