Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू

१ राजाहरू 20

Help us?
Click on verse(s) to share them!
1अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे । तिनीसित बत्तिस स-साना राजा, घोडाहरू र रथहरू थिए । तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे ।
2तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, '
3तपाईंका सुन र चाँदी मेरा हुन् । साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्' ।”
4इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।”
5सन्देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, 'तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्नीहरू र बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ ।
6तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्' ।”
7तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् । मेरा पत्नीहरू, बालबच्चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु ।”
8सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस् ।”
9त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।
10तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।”
11इस्राएलका राजाले जवाफ दिए, “बेन-हददलाई भन्, 'भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन' ।”
12बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने । बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्क्तिबद्ध होओ ।” त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए ।
13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस् ? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
14आहाबले जवाफ दिए, “कोद्वारा ?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा ।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्ने छ ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले ।”
15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।
16तिनीहरू मध्य दिनमा बाहिर निस्के । बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए ।
17पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे । बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन् ।”
18बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।”

19त्यसैले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए, र सेना तिनीहरूको पछिपछि लागे ।
20हरेकले आ-आफ्नो प्रतिद्वन्द्वीलाई मार्‍यो । अरामीहरू भागे, र इस्राएलीहरूले तिनीहरूलाई खेदे । अरामका राजा बेन-हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के ।
21तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठुलो संहार गरे ।
22त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।”
23अरामका राजाका अधिकारीहरूले तिनलाई भने, “तिनीहरूका ईश्वर त पहाडहरूका ईश्वर रहेछन् । त्यसकारण तिनीहरू हामीभन्दा शक्तिशाली भएका हुन् । तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ, र निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।
24त्यसैले तपाईंले यसो गर्नुहोस्, 'सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस् ।
25तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे ।
26नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए ।
27इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो । इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले, र तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए, जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए ।
28तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”
29त्यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्ने छाउनी हाले । अनि सातौँ दिनमा युद्ध सुरु भयो । इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे ।
30बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्र्यो । बेन-हदद भागेर सहरको भित्री कोठामा गए ।
31बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।”
32त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।”
33अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।
34बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।
35अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे ।
36तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो ।

37तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।”
38त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए ।
39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।'
40तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।”
41तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले, र तिनी त एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने ।
42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”
43त्यसैले इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे ।