Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 8

१ राजाहरू 8:8-38

Help us?
Click on verse(s) to share them!
8यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो । ती आजको दिनसम्म त्यहीँ छन् ।
9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।
10पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो ।
11बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
12तब सोलोमनले भने, “परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो,
13तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।”
14तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।
15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,
16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।
17तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।
18तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ ।
19तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'
20परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।
21मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”
22सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए ।
23तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ ।
24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।
25अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।'
26अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् ।
27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र ? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
28तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।
29रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।
30त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् ।
31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने
32स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् ।
33तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने
34तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
35मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने
36स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् । सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस् ।
37जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा,
38कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने

Read १ राजाहरू 8१ राजाहरू 8
Compare १ राजाहरू 8:8-38१ राजाहरू 8:8-38