Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 8

१ राजाहरू 8:43-62

Help us?
Click on verse(s) to share them!
43तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।
44तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने
45स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् ।
46पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,
47र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'
48भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,
49तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ ।
50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।
51तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो ।
52तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।
53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”
54जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए ।
55“परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ ।
56परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।
57परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् । उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून् ।
58उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् ।
59मैले परमप्रभुको सामु चढाएका यी वचनहरू रातदिन परमप्रभु हाम्रा परमेश्वरको नजिक रहून् ताकि दिनप्रतिदिनको खाँचोअनुसार तपाईंको दास र तपाईंको जाति इस्राएलको कारण मदत मिलोस्,
60ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् ।
61त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् ।
62त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए ।

Read १ राजाहरू 8१ राजाहरू 8
Compare १ राजाहरू 8:43-62१ राजाहरू 8:43-62