Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 8

१ राजाहरू 8:37-58

Help us?
Click on verse(s) to share them!
37जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा,
38कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने
39स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ, तिनीहरूलाई क्षमा दिनुहोस् र हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् । किनकि तपाईंले मात्र सारा मानव-जातिका ह्रदय जान्नुहुन्छ ।
40तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस् ।
41यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ–
42किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने
43तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।
44तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने
45स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् ।
46पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्,
47र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'
48भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने,
49तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ ।
50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।
51तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो ।
52तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।
53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”
54जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए ।
55“परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ ।
56परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।
57परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् । उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून् ।
58उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् ।

Read १ राजाहरू 8१ राजाहरू 8
Compare १ राजाहरू 8:37-58१ राजाहरू 8:37-58