Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 4

लेवीहरू 4:6-34

Help us?
Click on verse(s) to share them!
6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
7त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
8पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
9दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
10मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
11साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,
12र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
13यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
14तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
15त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
16अभिषिक्‍त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
17र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
18परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
21त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
22शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,
23त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।
24त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
25पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।
26मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।
27यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
28र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् ।
29त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।
30पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
31मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
32यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।
33त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।
34पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् ।

Read लेवीहरू 4लेवीहरू 4
Compare लेवीहरू 4:6-34लेवीहरू 4:6-34