Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 19

लेवीहरू 19:4-21

Help us?
Click on verse(s) to share them!
4मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
6तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।
7यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
8र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
9तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।
10आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
11चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
12मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
13आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
14बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।
15झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
16आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।
18बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
19तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
20मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।
21त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।

Read लेवीहरू 19लेवीहरू 19
Compare लेवीहरू 19:4-21लेवीहरू 19:4-21