Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 14

लेवीहरू 14:4-45

Help us?
Click on verse(s) to share them!
4त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ ।
5पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ ।
6पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ ।
7त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।
8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।
9सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।
10आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।
11शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।
12पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ ।
13उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो ।
14पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
15पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र
16र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ ।
17पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
18अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ ।
19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।
20त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।
21तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल,
22र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।
23आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।
24पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ ।
25उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
26त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ,
27र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ ।
28त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ ।
29परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ ।
30उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्-
31अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।
32छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
33परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
35घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु ।’
36त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् ।
37घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ ।
38यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ ।
39सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।
40यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ ।
41घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ ।
42तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् ।
43ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने,
44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।
45त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।

Read लेवीहरू 14लेवीहरू 14
Compare लेवीहरू 14:4-45लेवीहरू 14:4-45