Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 8

रोमी 8:1-35

Help us?
Click on verse(s) to share them!
1त्यसकारण, अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।
3जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
4हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।
5जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
6शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
7शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्‍न नै समर्थ हुन्छ ।
8जो शरीरमा छन्, उनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
9तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।
10यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
11येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
12त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ ।
13तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
14किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।
15किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं ।
16हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
17यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
18यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।
19किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
20किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा । यो दृढ निश्‍चयता हो,
21कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ ।
22हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
23यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
24किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ?
25तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
26त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
27जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्छ, किनकि उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।
28हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
29किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।
30जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
31त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त ? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र ?
32जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र ?
33परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ ।
34दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
35हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

Read रोमी 8रोमी 8
Compare रोमी 8:1-35रोमी 8:1-35