Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 8

यूहन्‍ना 8:36-53

Help us?
Click on verse(s) to share them!
36यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।
37म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
39तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
40तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
41तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”
42येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
43तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
44तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
45म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ ?
47जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
48यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?”
49येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
50म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
51म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”
52यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
53तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त ? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?”

Read यूहन्‍ना 8यूहन्‍ना 8
Compare यूहन्‍ना 8:36-53यूहन्‍ना 8:36-53