Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 6

यूहन्‍ना 6:27-50

Help us?
Click on verse(s) to share them!
27नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?”
29येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”
30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ?
31हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
33किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”
34यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
35येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
37पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।
38किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
39र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
40किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
41तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
42तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?”
43येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
44मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
45अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
46परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
47साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
48म जीवनको रोटी हुँ ।
49तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे ।
50यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।

Read यूहन्‍ना 6यूहन्‍ना 6
Compare यूहन्‍ना 6:27-50यूहन्‍ना 6:27-50