20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरूशलेम नै हो भनी तपाईंहरू भन्नुहुन्छ ।”
21येशूले तिनलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
22तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
23तापनि, साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ ।
24परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।”
25स्त्रीले उहाँलाई भनिन्, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
26येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
27त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ ?” भनी कसैले पनि भनेन ।
28त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
29“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त ?”
30तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र ?”