1अब जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो,
2(यद्यपि येशू आफैँले बप्तिस्मा दिँदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए)
3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
4तर उहाँ सामरिया भएर जानु आवश्यक थियो ।
5त्यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
6त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
7एक जना सामरी स्त्री पानी लिन आइन् र येशूले तिनलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
8किनभने उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए ।
9त्यसपछि सामरी स्त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी पिउने कुरा माग्नुभएको ?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
10येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
11स्त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ?
12के तपाईं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईवस्तुहरूले पनि पिए ?”