14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ !”
15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो ?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
16तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।
18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।
19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।
20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।
21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्नुहोस् ।”
22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।”
23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।
24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्त्रको लागि चिट्ठा हाले ।”