Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 7

यहोशू 7:1-15

Help us?
Click on verse(s) to share them!
1तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
2यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए ।
3जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
4त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।
5ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
6तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
7त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
8हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?
9कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
10परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
11इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
12परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
13उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
14बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।
15जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।”

Read यहोशू 7यहोशू 7
Compare यहोशू 7:1-15यहोशू 7:1-15