Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 22

भजनसंग्रह 22:14-31

Help us?
Click on verse(s) to share them!
14पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ ।
15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
16किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
17म आफ्‍ना सबै हाड गन्‍न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् ।
18मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
19हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
20मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस् ।
21मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।
22तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
23तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
24कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो ।
25तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु ।
26थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।
27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।
28किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
29पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
30आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् ।
31तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।

Read भजनसंग्रह 22भजनसंग्रह 22
Compare भजनसंग्रह 22:14-31भजनसंग्रह 22:14-31