Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 119

भजनसंग्रह 119:110-153

Help us?
Click on verse(s) to share them!
110दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
111तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
112सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
113दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु ।
114तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।
115हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।
116मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।
117मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।
118तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।
119तपाईंले दुष्‍टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु ।
120तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ ।
121जे निष्‍पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् ।
122तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।
123तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।
124तपाईंको सेवकलाई आफ्‍नो करारको विश्‍वस्‍तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् ।
125म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ ।
126यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन् ।
127साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
128यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
129तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।
130तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ ।
131म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
132तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् ।
133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।
134मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
135तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
136मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
138तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।
139रिसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।
140तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ ।
141म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।
142तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।
143संकष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
144तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
145मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
146म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”
147बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।
148रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।
149तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।
150मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
151हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् ।
152धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो ।
153मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्‍न ।

Read भजनसंग्रह 119भजनसंग्रह 119
Compare भजनसंग्रह 119:110-153भजनसंग्रह 119:110-153