Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 9

प्रेरित 9:15-40

Help us?
Click on verse(s) to share them!
15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।
19तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
20तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
21तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?”
22तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।
23धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे ।
24तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
25तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए ।
26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए ।
27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।
28यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले ।
29र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।
30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
32पत्रुस पुरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका मानिसहरूकहाँ पनि आइपुगे ।
33तिनले त्यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो ।
34पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे ।
35लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए ।
36अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।
37ती दिनमा उनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।
38लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।”
39पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
40पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे । मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन् ।

Read प्रेरित 9प्रेरित 9
Compare प्रेरित 9:15-40प्रेरित 9:15-40