12र तिनले दृष्टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”
13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्याएका छन् भन्ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।
14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”
15तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”
18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्टि पाए । तिनी उठे र बप्तिस्मा लिए ।
19तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
20तुरुन्तै येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे ।
21तिनका कुरा सुन्नेहरू सबै छक्क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्ट गर्ने मानिस यिनी नै होइनन् र ? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र ?”
22तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा बस्ने यहूदीहरूलाई तिनले अकमक्क पारिदिए ।
23धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे ।
24तर शाऊलले तिनीहरूको षड्यन्त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
25तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए ।
26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए ।
27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।
28यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले ।
29र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।
30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।