Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 21

प्रेरित 21:2-33

Help us?
Click on verse(s) to share them!
2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।
3हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।
4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।
5जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ ।
6हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।
7जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।
8अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
9यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
10हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए ।
11तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
12जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।
13त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”
14पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”
15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।
16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
17जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
18अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
20उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
21तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
22हामीले के गर्नुपर्छ ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।
23त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
24यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
25तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”
26त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
27सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
28उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
29किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
31तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।
32तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
33त्यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।

Read प्रेरित 21प्रेरित 21
Compare प्रेरित 21:2-33प्रेरित 21:2-33