Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 21

प्रेरित 21:15-35

Help us?
Click on verse(s) to share them!
15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।
16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।
17जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।
18अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।
19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
20उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
21तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
22हामीले के गर्नुपर्छ ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।
23त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।
24यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
25तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”
26त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
27सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
28उनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
29किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
31तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।
32तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
33त्यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
34भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्‍च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्‍च्याए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।
35जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।

Read प्रेरित 21प्रेरित 21
Compare प्रेरित 21:15-35प्रेरित 21:15-35