Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 10

प्रेरित 10:34-48

Help us?
Click on verse(s) to share them!
34तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न ।
35बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।
39यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
41सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
42परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
45पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
47“हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ ?”
48तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे ।

Read प्रेरित 10प्रेरित 10
Compare प्रेरित 10:34-48प्रेरित 10:34-48