Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 3

न्यायकर्ताहरू 3:5-26

Help us?
Click on verse(s) to share them!
5यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
7परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
8यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन-रिशातैमको सेवा गरे ।
9जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल (कालेबका भाइ) थिए ।
10परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
11देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो ।
12त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
13एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
14इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे ।
15जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
16एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे ।
17तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
18एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
19गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
20एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
22त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।

Read न्यायकर्ताहरू 3न्यायकर्ताहरू 3
Compare न्यायकर्ताहरू 3:5-26न्यायकर्ताहरू 3:5-26