Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 21

गन्ती 21:3-35

Help us?
Click on verse(s) to share them!
3परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो ।
4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।
5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”
6परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो । सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे ।
7मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे ।
8परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या । सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन् ।”
9यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए । जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो ।
10त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए ।
11तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।
12तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।
13तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।
14त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,
15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”
16तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”
17त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ,
18हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।”
19अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे । मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर,
20र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे । त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ ।
21त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,
22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस् । हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ । हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ । हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं ।”
23तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।
24इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो ।
25इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे ।
26हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।
27यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् ।
28हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।
29हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो ।
30तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।
31त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो ।
32अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए ।
33त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे ।
34त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”
35त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।

Read गन्ती 21गन्ती 21
Compare गन्ती 21:3-35गन्ती 21:3-35