Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 16

गन्ती 16:12-41

Help us?
Click on verse(s) to share them!
12त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।
13के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ !
14यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
15मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
16मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।
17अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
18यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।
19कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।
20परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
21“यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
22मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ?”
23परमप्रभुले मोशालाई जवाफ दिनुभयो,
24“समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”
25अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।
26तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
27यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
28मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
29यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
30तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।”
31मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
32धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
33यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए ।
34तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।
35अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
36फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
37“पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।
38आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।
39पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र
40इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

Read गन्ती 16गन्ती 16
Compare गन्ती 16:12-41गन्ती 16:12-41